मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

२०८३ जेष्ठ ३१, आईतवार

सिमकोट : पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ ।

यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि सङ्ख्या बढ्दै गएको हो । हालसम्म तीन हजार ७८० जना भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सा भएर चीनको ताक्लाकोटतर्फ मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए । यस वर्ष गत वैशाख ३० गतेदेखि भारतीय पर्यटक जिल्लामा प्रवेश सुरु गरेका उनले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हालसम्म एक हजार ८९२ महिला र एक हजार ८८८ जना पुरुष भारतीय पर्यटक हुम्ला आएका छन् । पर्यटकीय याम सुरु भएसँगै दैनिक ८० देखि २०० जना भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला आउने गरेका उनले जानकारी दिए । सोही कारणले यहाँका होटेलसहित कैलाश, मानसरोवर आसपासका होटल तथा रिसोर्ट भरिभराउ हुने गरेका छन् । पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीको आम्दानीमा उल्लेख्य सुधार भएको व्यवसायीहरू बताउँछन् ।

यसैगरी सिमकोट विमानस्थलबाट होटेलसम्म पर्यटकका झोलाहरू बोक्ने काममा ३० भन्दा बढी भरियाले काम गरिरहेका छन् । सिमकोटमा उत्पादित कृषिउपजले बजार पाउन थालेका छन् । पर्यटकको आगमन बढेपछि हाल ताराको एउटा, सीताका दुई र समिट एयरका तीन गरी निजी एयरलाइन्सले छ वटा उडानमार्फत बिहान ७ः०० बजेदेखि बेलुका अबेरसम्म नेपालगञ्ज–सिमकोट सेवा प्रवाह गरिरहेका नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार छ वटा कम्पनीका छ वटा हेलिकप्टरले सिमकोट विमानस्थलबाट हिल्सा उडान भर्दै आएका छन् । हेलिकप्टर बिहान ६ः३० बजेदेखि बेलुका ७ः०० बजेसम्म उडान भरिरहेका छन् । यस्तो पर्यटकको चहलपहल सिमकोटमा मात्र नभएर दुई देशको सीमा क्षेत्र हिल्सामा पनि हुने गरेको छ । पर्यटक आगमन बढेसँगै हिल्साका होटल व्यवसायी र भरियाको कमाइ बढेको उनको भनाइ छ ।

मानसरोवर कैलाशको दर्शन गर्ने समय सुरु भएपछि भारतीय पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेकाले सिमकोट विमानस्थलमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन थालेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उनले सिमकोटबाट पर्यटक हिल्सा ओसार्ने हेलिकप्टरले बिहान ६ः३० बजेदेखि उडान भर्न सुरु गर्ने जानकारी दिए । कतिपय बेला सिमकोट विमानस्थलमा ट्राफिक जाम हुने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार