काठमाडौँ : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षीय मनोहर मुडभरी, काठमाडौँ-१४ बस्ने बाजुरा घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौँ टोखा नगरपालिका-१० बस्ने कास्कीकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौँ-९ बस्ने पाँचथरका ४१ वर्षीय तुलसीराम ढुङ्गेल पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
पक्राउ परेकामध्ये मनोहरले मौरिसस पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ५० हजार, अनिलले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट आठ लाख ८४ हजार, कमलाले रोमानिया पठाइदिन्छु भन्दै एक जनाबाट छ लाख र तुलसीरामले युएई पठाइदिन्छु भन्दै एक जनाबाट छ लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
मनोहरलाई ललितपुर महानगरपालिका-३ बाट मङ्गलबार, अनिललाई काठमाडौँ महानगरपालिका-११ बाट, कमलालाई काठमाडौँ महानगरपालिका-२६ बाट र तुलसीरामलाई काठमाडौँ महानगरपालिका-९ बाट बुधबार पक्राउ गरिएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।



