नेपाली समाजको कथामा आधारित चलचित्र ‘पेन्सन पट्टा’

२०८३ भाद्र ४, बिहीबार

गण्डकी : यही भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजको जीवन्त कथामा आधारित रहेकाले दर्शकको मन जित्ने विश्वास निर्माण पक्ष र कलाकारले गरेका छन् ।

चलचित्रबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले चलचित्र हेर्दा दर्शकले आफ्नै समाज र परिवेशको झझल्को पाउने बताए ।

“चलचित्रले प्रेम, भावना, सम्बन्ध र समाजको संरचनालाई सरल ढङ्गले प्रस्तुत गरेको छ”, उनले भने । तीस–चालीस वर्षअघिको नेपाली समाजमा पेन्सन पट्टाको भूमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भूतपूर्व गोर्खाली सैनिकले समाज र देशका लागि दिएको योगदान सम्झनलायक रहेको बताए ।

‘पेन्सन पट्टा’ले केवल एउटा परिवारको कथा मात्र नभनी समाजभित्रका व्यथा र मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने अभिनेता राईको भनाइ छ । “चलचित्रमा निभाएको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु । पेन्सन पट्टा निकै सरल रूपमा प्रस्तुत गरिएको कथा हो । हरेक वर्गका मानिसले बुझ्न सक्छन्”, उनले भने ।

चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङले आमाले पेन्सन नपाउँदा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई कथाको आधार बनाइएको बताए । गोर्खालीको निधनपछि उसको परिवारले पेन्सनबापत पाउने सुविधालाई सहज रूपमा ग्रहण गर्न नसक्दा उत्पन्न हुने समस्या, उतारचढाव र सामाजिक परिवेशलाई चलचित्रमा प्रस्तुत गरिएको उनको भनाइ छ ।

निर्देशक गुरुङले आफूहरूले आफ्नै परिवेशको कथा इमानदारीपूर्वक प्रस्तुत गरेको बताए । चलचित्रकी अभिनेत्री सोल गुरुङले कथा मन परेकै कारण आफू चलचित्रमा जोडिएको बताए । अभिनेत्री मनिका गुरुङले ‘पेन्सन पट्टा’को विषयवस्तुले आफूलाई आकर्षित गरेको बताए ।

कास्कीको ताङतिङ र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यस चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, दिवङ्गत सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार