बर्जुताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

२०८३ भाद्र ६, शनिबार

सुनसरी : बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, जैविक विविधता तथा विभिन्न पर्यटकीय पूर्वाधारका कारण बर्जुताल सुनसरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

विराटनगरका निखिलकुमार सरदार कक्षा १० मा अध्ययनरत छन् । उनी विद्यालय बिदाको समयमा साथीहरूसँग साइकलमा बर्जुताल घुम्न आउने गरेको बताउँछन् । विराटनगरबाट नजिक, फराकिलो र शान्त वातावरण भएकाले विद्यालय बिदा हुनासाथ साथीसँग बर्जुताल आउने गरेको उनको भनाइ छ । “विराटनगरबाट नजिक छ । घुम्नका लागि पनि आकर्षक भएकाले विद्यालय बिदा हुने बित्तिकै साथीसँग साइकलमा यहाँ आउने गछौँ”, उनले भने ।

बर्जुताल पछिल्ला वर्षमा आन्तरिक पर्यटकका लागि लोकप्रिय बन्दै गएको स्थानीय राजेन्द्र चौधरी बताउँछन् । गर्मीको तुलनामा जाडो मौसममा पर्यटकको आगमन बढी हुने गरेको उनले जानकारी दिए । पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यापार तथा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ ।

“यहाँ घुम्न मात्र नभई भिडियो तथा गीतचलचित्र छायाङ्कनका लागि पनि विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्,” उनले भने । करिब १५२ बिघा क्षेत्रफलमा फैलिएको बर्जुताल समथर भू–भागमा फैलिएको विशाल जलाशय, हरियाली वातावरण र खुला प्राकृतिक दृश्य बर्जुतालका प्रमुख आकर्षण हुन् ।

तालको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकार, स्थानीय सरकार तथा विभिन्न निकायले पूर्वाधार निर्माण र विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्रदेश सरकार र बर्जु गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ताललाई प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित रु दुई करोड चार लाख बजेट विनियोजन गरेको थियो ।

उक्त बजेटबाट तालको स्वागतद्वार, वनभोजस्थल, चमेना गृह, टिकट काउन्टर तथा सार्वजनिक शौचालय निर्माण गरिएको संरक्षण समितिले जनाएको छ । साथै ताल क्षेत्रको सडक स्तरोन्नति तथा भूभाग व्यवस्थापनको कामसमेत गरिएको छ ।

बर्जुताललाई एक फन्को पैदल हिँडेर लगाउन करिब डेढ घण्टाभन्दा बढी समय लाग्छ । तालको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनोरम दृश्यका कारण दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । मोरङ, सुनसरी, झापालगायत पूर्वी नेपालका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् भने करिब ४० प्रतिशत पर्यटक भारतबाट आउने गरेकोसमितिको भनाइ छ ।

संरक्षण समितिका अध्यक्ष बिलतसिंह श्रेष्ठले बर्जुताल स्थानीय क्षेत्रको महत्त्वपूर्ण सम्पत्ति भएकाले यसको संरक्षण र विकासलाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । गर्मी समयमा दैनिक करिब १५० जना पर्यटक आउने गरे पनि जाडो मौसम तथा पिकनिक सिजनमा दैनिक दुई हजार पाँच सयभन्दा बढी पर्यटक आउने गरेको उनले जानकारी दिए । शनिबार तथा सार्वजनिक बिदाको समयमा चारदेखि पाँच हजारसम्म पर्यटक बर्जुताल घुम्न आउने गरेको समितिले जनाएको छ ।

ताल क्षेत्रमा करिब २०० प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । जाडो समयमा ताल वरपरको सिमसार क्षेत्र वनस्पति, जलचर तथा चराचुरुङ्गीको अध्ययन–अनुसन्धानका लागि उपयुक्त मानिन्छ । यसका कारण विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रकृतिप्रेमीसमेत बर्जुताल पुग्ने गरेका छन् ।

पर्यटकको आकर्षणका लागि तालमा अहिले १५ वटा चार सिटे पैडल डुङ्गा र एउटा ठुलो यान्त्रिक डुङ्गा सञ्चालनमा छन् । पर्यटकले डुङ्गा सयर गर्दै तालको मध्यभागसम्म पुगेर प्राकृतिक दृश्यको अवलोकन गर्न सक्छन् । ताल क्षेत्रमा सडक, वनभोजस्थल, सार्वजनिक शौचालय, चिल्ड्रेन पार्क, छातासहितको ६० भन्दाबढी बस्ने ठाउतालको बीचमा मन्दिर तथा चराचुरुङ्गीका बस्न आइसल्याण्डलगायतका संरचना निर्माण गरिएको छ ।

यी संरचनाले तालको पर्यटकीय आकर्षण थप बढाएको छ । सङ्घीय सरकार र स्थानीय सरकारको सहयोगमा करिब रु एक करोड ४० लाखको लागतमा थारु सङ्ग्रहालय निर्माण गरिएको छ । साथै पर्यटकको आकर्षण थप बढाउने उद्देश्यले रु दुई करोड ५० लाखको लागतमा भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको रु तीन करोड ६६ लाखको लागतमा नेपाली सेनाले जीर्ण तालको पुन निर्माण गरी विसं २०७३ मा स्थानीय तहलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार