बैतडी : बैतडीको सूर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् ।
“गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भनिन्।
मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि । “शौचालय र भान्सा घरमा क्षतिमा पु¥याएको छ । पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,” भुवनले भने, “डराइ–डराइ बस्नुपरेको छ । पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ ।”
गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखीममा परेका छन् । स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मिना बोहरा, गम्भिरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेको छ ।
लगातारको पहिरोका कारण गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताए । पानी परेको समयमा घर छोडेर छिमेकीको घरमा जाने गरेको उनले जानकारी दिए । विसं “२०७८ देखि पहिरो जान थालेको हो । त्यसपछि लगातार पहिरो खसिरहेको छ,” उनले भने, “पटकपटक पहिरोको दीर्घकालिन रोकथामका लागि सम्बन्धीत निकायसँगै माग गर्दै आएको भएपनि कुनै सुनुवाई भएन । अहिले पहिरोको जोखीम बढ्दै गएको छ ।”
स्थानीयले पहिरो जोखीम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन् । “घरमाथीको सबै जमिन चर्किएको छ । खानेपानीको पनि समस्या छ । बालबालिकालाई विद्यालय जान बाटो छैन,” पहिरोको जोखीममा रहेका कृष्ण बोहराले भने, “दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो ।”
४० रोपनी बढी खेतियोग्य जमिनमा क्षति
स्थानीय गम्भिर बोहराले लगातारको पहिरोका कारण आफ्नो मात्रै करिब १५ रोपनी बढी खेतियोग्य जमिनमा क्षति पु¥याएको बताए ।
“पहिरोले मकै बाली लगाएको सबै खेतियोग्य जमिन बगायो । घर पनि जोखीममा छ । अब जाने काँ ?”, बोहराले आँखाबाट आशु झार्दै भने ।
बाँकी जमिन पनि चर्किएकाले थप क्षति हुन सक्ने स्थानीयले बताएका छन् । सूर्नया गाउँपालिका–८ वडाअध्यक्ष भानबहादुर बोहराले ४० रोपनीबढी मकैबाली लगाएको खेतियोग्य जमिनमा क्षति पुर्याएको बताए । सो क्षेत्रमा मात्रै ४० रोपनी बढी खेतियोग्य जमिनमा पहिरोले क्षति पुर्याएको उनले जानकारी दिए ।
प्रजिअसहितको टोलिद्वारा स्थलगत निरीक्षण
शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ ।
सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई अर्को स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताए । बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री लगायतका जोहो गर्नुपर्ने भएकाले यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए ।
“पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिसकेका छौँ,” प्रजिअ अर्यालले भने। पहिरोले बाटोसमेत बगाएकाले विद्यार्थीलाई आधा घण्टाको दूरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने छ ।






