काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवा, समूह र तहका १२४ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले कात्तिक १२, १७ र २७ तथा मंसिर २, ३ र ४ गते गरिएका १० वटा छुट्टाछुट्टै निर्णयमार्फत उक्त सरुवा तथा खटनपटन गरेको हो।मन्त्रालयबाट प्राप्त विवरणअनुसार कात्तिक १२ गते ७ जना, कात्तिक १७ गते १४ जना र कात्तिक २७ गते २ जना कर्मचारीको सरुवा गरिएको छ।
त्यसैगरी मंसिर २ गते ६ जना, मंसिर ३ गते ४८ जना र मंसिर ४ गते ४७ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय भएको छ। सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीमा प्रमुख प्रशासकीय अधिकृत, उपसचिव, प्रमुख नापी अधिकृत, शाखा अधिकृत, मालपोत अधिकृत र नायब सुब्बालगायत रहेका छन्।
संघीय मन्त्रालय, विभिन्न विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत तथा नापी कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारी यसमा समेटिएका छन्।











