जब देउवाले आफ्नै केन्द्रीय सदस्य चिनेनन्

२०८० आश्विन ८, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा बोल्नका लागि एउटै व्यक्तिको दुईपटक नाम उच्चारण गर्छन् ।

तत्काल बोल्ने पालो आएका व्यक्तिको नाम लिएसँगै यस पछि बोल्ने पालो भनेर अर्को केन्द्रीय सदस्यको नाम लिन्छन् ।

आइतबार बोल्ने केन्द्रीय सदस्यको नाम बोलाउँदै गर्दा गोविन्द भट्टराई र हरिशरण नेपालीको नामसँगै लिए ।

तत्काल बोल्नेका लागि भट्टराईलाई पालो दिएसँगै ‘यसपछि हरिशरण नेपाली’ भने । भट्टराई बोलीसकेपछि बोल्ने पालो केन्द्रीय सदस्य नेपालीको आयो ।

२० देखि ३० साउनसम्म पार्टी संगठन सुदृढीकरणका लागि जिल्ला जाँदा स्थलगत अवस्था नेपालीले बैठकमा राखे ।

‘जिल्लामा ज्यादै असन्तुष्टिहरु छन् । तपाईँहरु पहिले सच्चिएर आउनुस् भन्नुभएको छ । जिल्ला एक अर्कासँग कोर्डिनेसन छैन । जिल्लामा बैठक बसाउन पनि धौधौको अवस्था छ,’ सांगठनिक अवस्थाबारे ब्रिफिङ गरेका उनले जनप्रतिनिधि र पार्टीवीच समन्वय नभएको सुनाए ।

सभापति देउवाले धन्यवाद है सकियो भन्दै रोकिन आग्रह गरे तर, नेपाली बोलिरहे ।

त्यसै बेला देउवाले छेउमै रहेका महामन्त्री विश्वप्रकाश शर्मालाई सोधे, ‘को मान्छे हो यो ?

उनको माइक अन नै थियो, देउवाले सोधेको सबैले सुने । महामन्त्रीले जवाफ दिए, त्यो बाहिर सुनिएन ।

एक नेताका अनुसार उनले हरिशरण नेपाली भएको बताए । देउवाले फेरि सोधे, कहाँको मान्छे हो यो ? माइक अन नै भएकाले बैठकमा सहभागी सबैले सुने ।

शर्माले भक्तपुरको नेता भएको बताएपछि देउवाले भने, ‘भयो भयो, सिद्धियो । माफ गर्नुहोला ।’

त्यसपछि देउवाले बैठक अगाडि बढाए । तर नेताहरु भने सभापतिले केन्द्रीय सदस्यलाई समेत नचिने जसरी सोधखोज गरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

‘देउवा कुन हदसम्म जानकारी राख्न सक्दैनन् भन्ने हो’, उमेरजन्य कारण पनि होला, देउवाले विसर्न थालेको कांग्रेसका एक नेताले सुनाए ।

स्वयंम हरिशरणले पनि अनौठो मानेका छन् । उनका अनुसार सभापति देउवासँग बेला–बेला भेट भइरहन्थ्यो । ‘खै किन त्यसो भन्नुभयो ? मलाई पनि अचम्म लागेको छ’, उनले भने, ‘म अलि पर बसेको थिएँ, दुरीको कारणले पो हो कि ?’

नेपाली विद्यार्थी संघ र दलित संघमा क्रियाशील हुँदै पार्टीको मूल राजनीतिमा आएका उनी १४औं महाधिवेशनमा संस्थापन पक्षबाटै केन्द्रीय सदस्य चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार