इन्स्पेक्टरको बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोज्ने सशस्त्र प्रहरी जवान निलम्बित

२०७९ फाल्गुन २९, सोमबार १२:१० बजे

काठमाडौं : सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बर्दी लगाएर मुद्दा प्रभावित पार्न खोजेको आरोपमा सशस्त्र प्रहरी जवान निलम्बित भएका छन्। सशस्त्र प्रहरी जवान संदिपकुमार साहलाई निलम्बन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

डिएसपी थापाका अनुसार उनी सशस्त्र प्रहरीको इन्स्पेक्टरको दर्ज्यानी चिन्ह भएको बर्दीमा गोरखाको इलाका प्रहरी कार्यालय आरूघाट पुगेका थिए। उनले आफू गोरखा गुल्मको इन्स्पेक्टर हुँ भन्दै कार्यालयमा परेको एक निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेको आरोप छ।

जवान साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा कार्यरत थिए। उनले १० दिनको घर बिदा स्वीकृत गराएर गएका थिए। डिएसपी थापाका अनुसार गोरखा आरूघाट गाउँपालिका-३ थुमी बस्ने १५ वर्षीया किशोरी गत फागुन १५ देखि १९ गतेसम्म सदरमुकाममा भएको रनिङ शिल्डमा भाग लिन गएकी थिइन्।

तर कार्यक्रमपछि उनी फर्किइनन्। किशोरीलाई सोही वडाका हिराबहादुर बरामले फकाएर लगेको भन्दै कार्यालयमा निवेदन परेको थियो। किशोरीकी बुवाले नाबालिगलाई फकाएर लग्ने हिराबहादुरमाथि कारबाही गरी पाउँ भन्दै निवेदन दिएका थिए। त्यसैमाथि अनुसन्धान गर्न दुबै पक्षलाई कार्यालयमा झिकाइएको थियो।

यस सम्बन्धमा सशस्त्र प्रहरी जवान साहले किशोरी आफ्नी साली भएको भन्दै कार्यालयमा इन्स्पेक्टरको बर्दी लगाएर पुगेका थिए। घटनालाई प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको डिएसपी थापाले बताए। उनलाई दर्ज्यानी चिन्हसहित बर्दीको दुरूपयोग गरेको भन्दै सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाएको डिएसपी थापाले बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार