बैंक तथा वित्तीय संस्थाविरूद्धको आन्दोलन फिर्ता

२०७९ फाल्गुन ३०, मंगलवार १९:५३ बजे

काठमाडौं : बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनरत उद्योगी व्यवसायीहरुले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।उद्योगी व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि आन्दोलनका कार्याक्रम फिर्ता लिइएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

‘प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि हामीले आन्दोलनका सबै कार्याक्रम फिर्ता लिएका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘माग पुरा नभए पुनः आन्दोलन गर्नु होला । तर सरकार तपाईंहरुको माग पुरा गर्न तयार छ भनेर प्रधानमन्त्रीले बाचा गर्नु भएको छ ।’

‘बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैं जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौं’ श्रेष्ठले भने ।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसन लगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर आन्दोलन गर्दै आइरहेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार