यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

२०७९ चैत्र २, बिहीबार १३:४० बजे

काठमाडौं : आसिफ खान र भृत्य अरविन्दको विस्फोटक ब्याटिङसँगै यूएईले घरेलु टोली नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । १९ रनमा पहिलो विकेट गुमाएको यूएईका लागि महम्मद वसिम र भृत्य अरविन्दले ७९ रनको साझेदारी गरे । बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका बसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो ।

अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो । पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो ।

तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे । अरविन्द भने ९४ रन बनाएर अन्तिम बलमा आउट भए । नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार