दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको लागि चीनबाट ड्रिलिङ मेसिन ल्याइँदै

२०८० माघ ९, मंगलवार

वीरेन्द्रनगर : दैलेखको पन्चकोशी क्षेत्र आसपासमा २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। चीनबाट अन्तिम ड्रिलिङ सर्भेका लागि ल्याइने ठूला उपकरणहरू राखिने फाउन्डेसन तयारी भएसँगै अन्वेषणको काम अन्तिम चरणमा पुगेको हो। प्रारम्भिक अन्वेषणको सर्बेको रिपोर्टमा पेट्रोलियम पदार्थ रहेको सकारात्मक देखिएसँगै थप ड्रिलिङ सर्भेको काम अघि बढाइएको हो। यसका लागि जग्गा अधिग्रहण र सडक चौडा पार्ने कामसमेत अन्तिम चरणमा रहेको छ।

अब हुने अन्तिम अन्वेषण भएकाले दैलेखमा कति क्षमता (भण्डारण)को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराइ पनि मापन हुने जनाइएको छ। परिणाम कति छ, कहाँ कहाँसम्म फैलिएको छ र उत्खननका लागि खर्च र फाइदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भूगर्भ विभागले जनाएको छ। यसअघि चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाभीस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको अन्वेषणकै क्रममा पत्ता लगाएको थियो।

डेढ महिनाभित्र मेसिन चीनबाट भारतको कोलकाता हुँदै अन्वेषणस्थलमा आइपुग्ने पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए।

‘ड्रिलिङ हुने स्थानमा फाउन्डेसन सुरु भइसकेको छ,’ नापितले भने, मेसिनसँगै फाउन्डेसनको काम पनि सकिनेछ। ड्रिलिङ गर्न सुरु भएको ४ देखि ५ महिनामा सकिने छ। त्यसपछि रिपोर्ट आउन समय लाग्नेछ ।’ पेट्रोलियम अन्वेषणको सम्झौता म्याद फागुन १६ गते सकिँदैछ। प्रधानमन्त्री कार्यालयमा म्याद थपका लागि प्रस्ताव परियोजनाको कार्यालयबाट गइसकेको छ।

अन्वेषणका लागि आवश्यक पर्ने ठूला उपकरण सुर्खेतदेखि दैलेख ल्याउन कर्णाली राजमार्ग हुँदै साँगेतडा बजारबाट चामुण्डाविन्दासैनी नगरपालिकाबाट पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट अन्तिम ड्रिलिङ सर्बे हुने स्थान भैरवी गाउँपालिकाको जलजलेसम्म चिनियाँ टोलीसहित स्थलगत अनुगमन गरी ल्याइने तयारी भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।

सडक डिभिजन सुर्खेतमार्फत सडकको मोडहरू फराकिलो पार्न चार करोड ३६ लाखमा ठेक्का सम्झौता गरी ठाउँठाउँमा सडकका मोडहरू चौडा बनाइएको छ। १५ मिटर लम्बाइ तथा ४० देखि ४५ टनको ठूलो ड्रिलिङ मेसिन ल्याउन सडक साँगुरो भएको हो।

ड्रिलिङको काम अघि बढाउनका लागि आवश्यक उपकरण ल्याउन सडक साँगुरो भएको हुँदा सडक स्तरोन्नतिको काम भइरहेको छ। नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे भइसकेको छ।

यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण सकिसकेको छ। दैलेखमा रहेको पेटोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार