असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली

२०८० माघ १६, मंगलवार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्  ।

मंगलबार काठमाडौँमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए । ‘असन्तुष्टि बढ्दै गएर आक्रोश बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले भने । ओलीले देश भावनाले चल्ने विषय नभएको प्रस्ट पारे । ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ’, ओलीले भने ।

माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उनले बताए । माओवादीले गलत गरेको कारण जनताले उसको साथ छाडेको ओलीको भनाइ छ । ओलीले राजनीति लोकतन्त्रका लागि चाहिने र लोकतन्त्र देश विकास, जनताको हितका लागि आवश्यक रहेको बताए । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने उनले स्पष्ट पारे ।

ओलीले आफू सम्पूर्ण रूपमा देश, जनता र लोकतन्त्र प्रति समर्पित भएको बताए । लोकतन्त्र स्वतन्त्रता मात्र नभएर आर्थिक, सामाजिक परिवर्तनको पक्ष पनि भएको उनले बताए । राजनीति आर्थिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित नभई लोकतन्त्र अघि नबढ्ने ओलीले बताए । आफूले संसदमा बोल्दा देश प्रति र जनता प्रतिको निष्ठाका साथ बोल्ने गरेको ओलीले बताए । आफूले संसद्मा केही कुरामा असावधानी भएका भए पनि ठिक बिचारका साथ बोलेको उनले स्पष्ट पारे ।

आफूले निष्ठाका साथ राजनीति गरेको उनले दाबी गरे । आफ्नो राजनीति जनता र सुशासन प्रति निष्ठाको धारमा अघि बढेको ओलीले बताए । देश र जनताका हितका निम्ति नै आफूले काम गरेको उनले प्रस्ट पारे । ओलीले देश बनाउन सकिँदैन भन्ने कुरा गलत भएको बताए। नेपाल भन्दा साना र ठुला सबै देशले प्रगति गरेका उनले सुनाए । नेपाल उर्वर भूमि भएकोले जसरी पनि बन्न सक्ने उनले बताए । त्यसकालागि राष्ट्रिय विश्वासको खाँचो भएको ओलीले औँल्याए । ‘हामीलाई राष्ट्रिय आत्मविश्वासको मात्र आवश्यकता छ’, उनले भने ।

बाहिर गएर देश बनाउने नेपालीले आफ्नो देश बनाउन नसक्ने कुरै नआउने ओलीले बताए । युवा जनशक्ति अधिक भएको बेलामा देश बनाउनु पर्नेमा उनले जोड दिए । केही वर्ष ढिलो गरियो भने नेपाल ज्येष्ठ नागरिकको देश बन्ने भएकोले त्यस्तो अवस्था देश नै असफल हुनसक्ने तर्फ उनले सचेत गराए । भ्रष्टाचार न्यूनता, दृढ सङ्कल्प, राष्ट्रिय दृढता र आत्मविश्वास साथ लाग्दा देश बस्न समय नलाग्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार