रविलाई फसाउन खोजिँदै छ : केपी ओली

२०८० चैत्र ७, बुधबार

काठमाडौं : सत्ता सझेदार सबैभन्दा ठुलो दल एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहकारी ठगी प्रकरणमा मुछिएको भनेर गृहमन्त्री लामिछानेलाई फसाउन र बदनाम गर्न खोजिएको बताएका छन्। धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उजुरी परेकै आधारमा गृहमन्त्री लामिछाने मन्त्रीबाट हट्नुपर्छ भन्ने नेपाली कांग्रेसको माग पनि जायज नभएको बताए।

ओलीले उजुरी दर्ताकै आधारमा कारबाही गर्ने हो भने मन्त्री र सांसद पद सबै खाली रहने बताए। ‘उनी (रवि) कुनै सहकारीमा छन्, सहकारी सञ्चालक हुन्, सदस्य हुन् ? उनले पैसा उठाउने, सहकारी डुबाउने केही गरेका छन् ? केही पनि छैन भने छानबिनमा कसरी दुष्प्रभाव पर्छ,’ ओलीले भने, ‘नेपाली कांग्रेसतिर रवि र उनको पार्टी लागेन। त्यसैले रविलाई बदनाम गर्न, फसाउन खोजिएको छ।’ गृहमन्त्री रवि लामिछानेको विषयमा नेपाली कांग्रेसले विरोध गर्नुको औचित्य नभएको ओलीले बताए।

ओलीले आफू प्रधानमन्त्री हुँदा बोली चिप्लिएका कारण शेरबहादुर तामाङ, गोकुल बाँस्कोटालाई मन्त्रीबाट राजीनामा गराएको तर नेपाली कांग्रेसका मन्त्री झण्डा हल्लाउदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिन गएको बताए। सत्ता पक्षमा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा नेपाली कांग्रेसलाई नैतिकताको कुनै अर्थ नभएको पनि उनले बताए। सरकारबाट हट्नुपरेको छटपटीमा कांग्रेसले लगाएका आरोपको अर्थ नहुने उनको भनाइ थियो।

ओलीले सुन तस्करी काण्डमा छानबिनका लागि त्यतिबेला एमालेले प्रतिपक्षी बेन्चबाट आयोग बनाउन माग गर्दा सत्तामा रहेको कांग्रेसले धेरै खोचे थापेर झन्डै २ महिना पर धकेलेको बताए। एमालेले त्यतिबेला राखेको माग छानबिन आयोगको प्रतिवेदनबाट सही ठहरिएको प्रमाणित भएको उनले बताए। अहिले छानबिनले बाहिर आएको तथ्यबाट त्यतिबेला सरकारको कारबाही गराइको ढाँचा के थियो भन्ने कुराको संकेत मिलेको पनि उनले बताए।

सत्ता गठबन्धन दलबीच प्रधानमन्त्रीको विषयमा के सहमति भएको थियो भन्ने प्रश्नमा ओलीले अहिले आफूलाई प्रधानमन्त्री खान मन नभएको र अरू पनि कोही अघि नसरकेकाले पुष्पकमल दाहालले नै पूरै कार्यकाल प्रधानमन्त्री खानुहोला जस्तो देखिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार