नाउपामा फेरि किचलो, सांसद नै दुई कित्तामा

२०८० चैत्र १६, शुक्रबार

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा फेरि किचलो सुरु भएको छ । सत्ता गठबन्धनलाई लिएर सो पार्टीभित्र किचलो सुरु भएको हो । बुधबार मात्र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरूको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

अल्पमतमा परेको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायमै राख्ने भन्ने विषयमा भने नागरिक उन्मुक्तिबाट सांसद बनेकाहरू नै दुई कित्तामा देखिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका प्रमुख रामलाल डंगौराले नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।

बैठकमा सुदूरपश्चिमका सात जना सांसदमध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, बिनाविभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता थियो । साथै पार्टी संरक्षक रेशमलाल चौधरी पनि बैठकमा सहभागी थिएनन् । टीकापुरमा सम्पन्न संस्थापक केन्द्रीय सदस्य र सांसदहरू सम्मिलित बैठक विवादित बनेको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीका साथै बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थिति बिना भएको भन्दै अर्कोथरीले विरोध नै जनाएका थिए । पार्टी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै तहमा नयाँ राजनीतिक गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

साथै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसमेत गरेको छ । तर, सोही पार्टीका अर्कोथरी संस्थापक तथा नेताहरूले सो निर्णय अल्पमत सदस्यले गरेको भन्दै मान्य नहुने बताइरहेका छन् । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएका छन् । चौधरीले आफूहरूको समर्थन कायमै रहने बताए ।

बैठकमा २१ जना केन्द्रीय सदस्यमध्ये १२ जना सहभागी थिए । बैठकमा सुदूरपश्चिमका सात जना सांसदमध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, बिनाविभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो । सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नागरिक उन्मुक्तिका सात जना सांसदमध्ये पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् ।

यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर, अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाएकी थिइन् । पार्टीका संरक्षक रेशमलालसहित बहुसंख्यक संस्थापक सदस्य तथा सांसदहरूको उपस्थितिबिना निर्णय भएको भन्दै अर्कोथरीले विरोध जनाएका छन् ।

उता, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका छन् । नाउपा केन्द्रीय समितिले बुधबार मात्रै केन्द्र र प्रदेशको ‘नयाँ सत्ता गठबन्धनलाई समर्थन’ गर्ने निर्णय गरेकामा बिहीबार मन्त्रीद्वय खुसीराम डगौंरा थारू र लक्ष्मणकिशोर चौधरीलाई मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो ।

मन्त्री खुसीरामलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । भने मन्त्री लक्ष्मण किशोरलाई सामाजिक बिहीबारै आआफ्नो मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । नागरिक उन्मुक्ति पार्टीभित्र सुदूरपश्चिम प्रदेशमा वर्तमान सरकारलाई समर्थन गर्ने र नगर्नेमा सुरुदेखि नै दुई धार रहँदै आएको छ । बुधबार नाउपा अध्यक्ष तथा कैलाली १ का प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा बसेको बैठकले ‘केन्द्र र प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने’ निर्णय गरेको थियो ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री शाहले नाउपाबाट चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरिसकेका छन् । सुदूरपश्चिम प्रदेशसभामा नाउपाका सात जना सांसद रहेका छन् । ५३ सदस्यीय यो प्रदेशसभामा सरकार बनाउन २७ जना सांसद आवश्यक पर्छ । हाल प्रदेशसभामा नेपाली कांग्रेसका १८ जना, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११ जना, नेकपा (एमाले) का १० जना, नागरिक उन्मुक्ति पार्टीका सात जना, नेकपा (एकीकृत समाजवादी)का चार जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना र एक जना स्वतन्त्र गरी ५२ जना सांसद कायम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार