अप्पर रिचेत हाइड्रोले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट नियुक्त

२०८२ माघ २७, मंगलवार

काठमाडौँ : दुई मेगावाट विद्युत् उत्पादन क्षमता रहेको अप्पर रिचेत हाइड्रोपावर प्रा.लि.ले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। सोमबार अप्पर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अप्पर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान तथा आरबीबी मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

कम्पनीले आफ्नो ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरका ८ लाख कित्ता साधारण सेयर निकट भविष्यमा सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ। आइपिओ प्रक्रियाका लागि कम्पनीले आफूलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने तथा क्रेडिट रेटिङको कार्यसमेत अघि बढाएको छ।

कम्पनीका अनुसार आगामी श्रावण–भदौ महिनामा आइपिओ निष्काशन गर्ने योजना रहेको छ। अप्पर रिचेत हाइड्रोपावरले २०८१ भदौ महिनादेखि विद्युत् उत्पादन सुरु गरिसकेको छ। कम्पनीको जलविद्युत् आयोजना गोरखा जिल्लाको धार्चे क्षेत्रमा अवस्थित रहेको छ।

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारणको जानकारीका लागि उक्त सूचना सार्वजनिक गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार