मिथिलामा वासन्ती छठ पर्वको आज ‘सझियाअरख’ सम्पन्न

२०८२ चैत्र १०, मंगलवार

महोत्तरी : वसन्तकालीन छठ पर्वको आज मङ्गलबार निराहार व्रतका दिन मधेसको मिथिला क्षेत्रका बर्तालुले अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझियाअरख’ विधि सम्पन्न गरेका छन् । आज मिथिला क्षेत्रमा सूर्य अस्त हुने साँझको ६ः१६ मिनेटमा बर्तालुले यो विधि सम्पन्न गरेका हुन् ।

सूर्य उपासनाको वसन्तकालीन छठ पर्वको आज तेस्रो दिन हो । यसअघि गत आइतबार चैत शुक्ल चतुर्थी (चौथी) का दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमी तिथिका दिन बर्तालुले ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । अब भोलि बुधबार बिहान ६ः०५ मिनेट जाँदा मिथिला क्षेत्रमा सूर्योदय हुने हुँदा सोहीबेला उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर बर्तालुले पर्व सम्पन्न गर्ने मिथिला कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झाले बताए ।

मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ । वसन्त ऋतुमा मनाइने हुँदा यसलाई वासन्ती छठ भनिएको झाको भनाइ छ । चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्व मिथिला क्षेत्रमा श्रद्धा र निष्ठाको प्रतीक मानिँदै आइएको छ ।

चार दिने यो पर्वमा पहिलो दिन ‘नहाय–खाय’, दोस्रो अर्थात् चैत शुक्ल पञ्चमीका दिन ‘खरना’, तेस्रो चैत शुक्ल षष्ठीका दिन निराहार व्रत रही साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर ‘सझियाअरख’ र चौथो दिन सप्तमी तिथिमा बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ । यो अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्वको पहिलो दिन पवित्रस्नान गरेर चोखोनीतो खाने चलन छ । यस दिन व्रतमा अपवित्र मानिने लहसुन, प्याज र कोदोसहितका खाद्यपदार्थ प्रयोग गरिन्नन् । अरवा चामलको भात खाइने हुँदा यस दिनलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो अर्थात् ‘खरना’ का दिन दिनभरि उपवास रही राति सख्खर हालेर पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् । यो प्रसाद खाएपछि निराहार व्रत प्रारम्भ हुन्छ । षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलासयमा बनाइएको घाटमा गई अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य (अर्घ) दिने परम्परा छ ।

यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला हातमा उठाएर सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा चोवलिएर सूर्यलाई अघ्र्य दिने परम्परा छ । चौथो अर्थात् सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई बर्तालुले व्रत समापन गर्नेछन् । सूर्य र सूर्यपत्नी षष्ठीदेवीको आराधना गरिने यो मिथिलाको मुख्य पर्व मानिन्छ ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति वासन्ती छठ मनाउने भने देखिँदैनन् ।

यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसै बेलादेखि प्रारम्भ भएको मानिन्छ । यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका र सति अनसुइयाले सूर्य उपासना गरेकी जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार