दूध मागेर रोएको निहुँमा बाबुद्वारा ४ वर्षीय छोराको भुइमा पछारेर हत्या

२०८३ जेष्ठ १७, आईतवार

काठमाडौं : भारतको आर्थिक राजधानी मुम्बईको पवई इलाकामा एक कलिलो बालकको उनकै जन्मदिने बाबुले क्रूरतापूर्वक कुटपिट गरी हत्या गरेका छन्। दूध मागेर रोएको निहुँमा आक्रोशित बनेका बाबुले ४ वर्षीय छोरालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि घरको ढोकामा बजारेर हत्या गरेका हुन्।

पवईको गौतम नगर इलाकामा बिहीबार बिहान घटेको यस हृदयविदारक घटनामा ज्यान गुमाउने बालक ४ वर्षीय यश हुन्। उनी शारीरिक रूपमा केही कमजोर (विशेष आवश्यकता भएको बालक) तथा परिवारका एक्ला छोरा थिए।

प्रहरीका अनुसार घटनाका समयमा घरमा बालक र उनका बाबु राजेश सिंह मात्र थिए। यशकी आमा विगत १४ दिनदेखि आफ्नो माइती गएकी थिइन्। अभियुक्त राजेश सिंह अत्यधिक मदिरा सेवन गर्ने र कुनै स्थायी काम नगर्ने व्यक्ति हुन्। उनको परिवारको सम्पूर्ण खर्च श्रीमतीले अरूको घरमा काम गरेर चलाउँदै आएकी थिइन्।

बिहीबार बिहान करिब ५ बजे यशले भोक लागेर बाबुसँग दूध मागेका थिए। समयमा दूध नपाएपछि बालक रुन थाले। बालक रोएको सुनेर अत्यधिक आक्रोशित बनेका राजेशले उनलाई निर्ममतापूर्वक कुटपिट गर्न सुरु गरे।

रिसको झोंकमा उनले ती अबोध बालकलाई उठाएर ढोकामा बजारेका थिए, जसका कारण बालकको टाउकोमा गम्भीर चोट लाग्यो। चोट लागेर बालकको अवस्था नाजुक हुँदा पनि उनलाई बचाउने कुनै प्रयास गरिएन, जसको केही समयमै घटनास्थलमै मृत्यु भयो।

छोराको मृत्यु भएपछि अभियुक्त राजेश आफ्नै दिदीको घर पुगेर आफूले छोरालाई कुटपिट गरेको कुरा सुनाएका थिए। भाइको कुरा सुनेर संशकित बनेकी दिदी तुरुन्तै घटनास्थल पुग्दा भतिजोलाई मृत अवस्थामा देखेपछि स्तब्ध भइन्।

उनले ढिला नगरी तुरुन्तै पवई प्रहरी चौकी पुगेर आफ्नै भाइबिरुद्ध किटानी जाहेरी दर्ता गराइन्। दिदीको उजुरीका आधारमा प्रहरीले तत्कालै कारबाही अघि बढाउँदै अभियुक्त बाबुलाई गिरफ्तार गरेको छ।

बालकको शव परीक्षण रिपोर्टमा उनको टाउकोको हड्डी भाँचिएको र गम्भीर आन्तरिक चोट लागेको पुष्टि भएको छ। अत्यधिक चोट र रक्तश्रावका कारण नै बालकको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन्।

प्रहरीले अभियुक्त राजेश सिंहलाई अदालतमा पेस गरिसकेको छ र अदालतले उनलाई जुन १ सम्मका लागि प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यस दर्दनाक घटनाले स्थानीय क्षेत्रलाई स्तब्ध बनाएको छ भने मदिराको लत र घरेलु हिंसाका कारण बालबालिका कति असुरक्षित छन् भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार