काठमाडौँ : सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको अभियोगमा सबडिभिजन वन कार्यालय बन्दीपुर, सिराहाका प्रमुख रामकेवल राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठौँ तहका अधिकृत यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। रायले काष्ठ उद्योगमा काठ लिई आएका ट्रकहरूको सिल खोलेको मुचुल्का गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोपपत्रमा उल्लेख छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिमको कसुर गरेकाले उनलाई १२ हजार बिगो कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।



