विमान दुर्घटनामा मृत्यु हुनेमा नवलपरासीका कृषि प्रसार अधिकृत पनि

२०७९ माघ २, सोमबार १५:२१ बजे

नवलपुर : पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ ।

विगत पाँच वर्षदेखि उहाँ कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत रहेका थिए । कृषि ज्ञान केन्द्र म्याग्दीमा कार्यरत कृषि प्रसार अधिकृत ३४ वर्षीय मोहनप्रकाश श्रेष्ठको विमान दुर्घटनामा निधन भएको हो । केन्द्रका प्रमुख किरन सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताए ।

“यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,” उनले भने, “उहाँको साथमा रहेका कागजात र शवको पहिचान भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ ।” नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर आएका थिए । वि.स. २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत रहेका छन् ।

श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ । श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार