तीन दिनमा ‘महाजात्रा’को ४ करोड २६ लाख ग्रस कलेक्सन

२०८० चैत्र १२, सोमबार

काठमाडाैं : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जानकारी दिएको छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममार्फत दिइएको मनोरञ्जन र सन्देशलाई दर्शकले रुचाउनु भएको बताए । ‘हामी प्रदर्शनकै दिनदेखि हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । उहाँहरू मनोरञ्जनसँगै फिल्ममा उठान गरिएको राजनीतिक विषयसँग खुसी हुनुहुन्छ । फिल्म हेर्न हलसम्म परिवार नै आइरहनु भएको छ, उहाँहरूले हामी प्रति गरिरहनुभएको विश्वास घटेको छैन । यो हाम्रो सबै भन्दा ठुलो उपलब्धि हो’, निर्देशक भट्टराईले भने । उनले हलमा फिल्म हेरेर निस्किदा दर्शकमा देखिएको खुसीलाई आफ्नो समूहको ठूलो सफलताको रूपमा लिएका छन् ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दशक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।

दर्शक प्रतिक्रिया लिइरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकले पहिलो हाफमा रहेको कमेडी र दोस्रो हाफमा रहेको राजनीतिक विषयलाई दर्शकले रुचाउनु भएको बताए ।

‘हाम्रो फिल्मलाई देश मात्र नभई विदेशमा पनि दर्शकले उत्तिकै माया गर्नुभएको छ । फिल्म हेर्नेले यसलाई शृङ्खलाकै उत्कृष्ट भनेर प्रतिक्रिया दिनुभएको छ । किनकि यस पटक फिल्मलाई मनोरञ्जनमा मात्र सीमित नराखी राष्ट्रिय विषयलाई उठाएका छौँ । सोही कारण जात्राबाट यस पटक महाजात्रा भयो । दर्शकले दुवै पक्षलाई रुचाउनु भएको छ’, अभिनेता बानियाँले भने,‘दर्शकसँगै देशका कला प्रेमी नेताबाट माया पाउँदा हामी कृतज्ञ भएका छौँ । उपप्रधानमन्त्री ज्युले हाम्रो फिल्मलाई हलमै आम बनेर हेरेपछि दिनुभएको प्रतिक्रिया हाम्रो लागि ऊर्जाको विषय हो ।’

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार