अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

२०८० चैत्र १५, बिहीबार

गलेश्वर : अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् ।

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गर्नुभएको छ ।

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल हुनुभएको छ । रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताए । उनिका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम भएपछि अन्नबालीको साटो फलफूलखेती थालिएको हो ।

उनिले भने , “आजकल रैथाने बाली लगाउन मन लाग्दैन । खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती सुरु गरेको हुँ । मुश्किलले रु १२ हजारको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक रु तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ ।”

जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि केही अन्नको बीउ पाउन कठिन भएको छ । मङ्गला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको नपाइएको बताए । गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो । “रोग र किराको प्रकोपले सोचेअनुसार उत्पादन नहुँदा हामीले यसको खेती घटाउँदै गएका छौँ”, उनिले भने , “बर्सेनि नयाँ रोगले बाली नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन हुँदैन ।”

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली सङ्कटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार