नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छौँ : प्रशिक्षक देसाई

२०८० चैत्र १५, बिहीबार

काठमाडौँ : नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।

आईसीसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्ने जाने नेपाली क्रिकेट टोलीको बिदाई कार्यक्रममा प्रशिक्षक देसाईले उक्त धारणा राखेका हुन् । नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (यूएई) मा एसीसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रशिक्षक देसाईले एसिसी प्रिमियर कप अगाडि भारतमा हुने प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे । यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको प्रशिक्षकको भनाइ छ । डिफेन्डिङ च्याम्पियनका रूपमा एसीसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेको प्रशिक्षक देसाईको भनाइ छ । पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने देसाईले बताए ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले सरकारले घोषणा गरेको पुरस्कार रकममध्ये ५०/६० प्रतिशत मात्र पाएको उल्लेख गर्दै ट्वान्टी–२० विश्वकप अगाडि नै ती पुरस्कार पाउनेमा आफू विश्वस्त रहेको बताए । एसीसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै रोहितले राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गरे ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पाउनुपर्ने कुरा समयमा नपाउँदा मन नै मर्नसक्ने उल्लेख गर्दै उत्कृष्ट मनोबलका साथ खेल्न शुभकामना दिए । साथै उनले खेलकुदलाई नयाँ ढंगबाट अगाडि बढाउन आफू लागिपरिरहेको धारणा राखे । क्यानका सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकप तयारीका क्रममा रहेकाले गुजरातमा हुने प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । क्यानले बिहीबार खेलाडीको बिदाई गरेको हो ।

बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यान सचिव पारस खड्का, महाप्रबन्धक उत्सव ढुङ्गानालगायतको उपस्थिति थियो । फ्रेन्डसिप कप उक्त आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ । नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

यो प्रतियोगिताअघि नेपालले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ विरुद्ध दुई खेलको श्रृंखलामा ‘क्लिन स्विप’ गरेको थियो । ट्वान्टी-२० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार