भोजपुर : यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ ।
आज एक औपचारिक कार्यक्रमका ३४ कोठे आधुनिक भवन उद्घाटन गरिएको हो । लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु सात करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । उहाँका अनुसार निर्माण कम्पनीसँग भएको सम्झौताबमोजिम विसं २०८० साल मङ्सिरबाट सुरु गरिएको भवन दुई वर्षको अवधिमै सम्पन्न गरिएको हो ।
लिफ्टसहितको पूर्वाधार निर्माण गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित भवन निर्माण गरिएको बताए ।
“यसअघि आफ्नै भवन नहुँदा पुरानो स्वास्थ्यचौकीको भवन तथा भाडाका संरचनाबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “अब आफ्नै व्यवस्थित भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई धेरै सहज हुनेछ । आजबाट एउटै भवनबाट नागरिकले सेवा लिने अवस्था बनेको छ ।”
उक्त भवन केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताए ।









