भोजपुरका किसान चैतेधान रोप्नमा व्यस्त

२०८२ चैत्र १५, आईतवार

भोजपुर : भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन्। हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन्।

जिल्लाका हतुवागढी, अरुण, षडानन्द नगरपालिकालगायतका स्थानीय तहमा रहेका सिँचाइ सुविधा भएका फाँटमा अहिले रोपाइँको चटारो देखिएको छ।

समयमै रोपाइँ गर्न सके उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन्। हतुवागढी गाउँपालिका–२ का जयबहादुर थापाका अनुसार चैतेधान बाली छोटो अवधिमा पाक्ने भएकाले यसबाट वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ। यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उनको भनाइ छ।

कावाखोला किनार क्षेत्रका राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेतीसमेत यहाँ हुँदै आएको थापाले जानकारी दिए। फागुन अन्तिमदेखि चैतको अन्तिमसम्म हिउँदे धान रोप्ने चलन रहेको उनी बताउँछन्। आफूले बर्सेनि ४५ देखि ५० मुरीसम्म हिउँदे धान उत्पादन गर्दै आएको उनले बताए। “हामी यो समयमा चैते धान रोप्नमा व्यस्त छौँ”।

उनले भने, “यतिबेला रोपेको धान असार अन्तिमदेखि साउनको पहिलो सातासम्म भण्डारणयोग्य हुन्छ, त्यसपछि पुनः अर्को बाली लगाउँछौँ।” यद्यपि पर्याप्त सिँचाइको अभाव, मलखादको कमी र श्रमिक अभावका कारण समस्या देखिएको किसानको गुनासो छ। सिँचाइ सुविधा नपुगेका क्षेत्रमा भने रोपाइँ ढिला हुने अवस्था छ।

दुई नगरपालिका र सात गाउँपालिका  रहेको भोजपुरमा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लामा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार