काठमाडौं : एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ४९ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेर ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ खर्ब २८ अर्ब ४५ करोड कर्जा प्रवाह गरेर २ अर्ब ८५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गरेको गत आवको तुलनामा ४०.६० प्रतिशतले बढी हो । बैंकको ग्राहक निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । साधारण सेयरधनीहरूका लागि प्रतिसेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको आम्दानी र नाफा दुवै सूचकमा राम्रो वृद्धि भएको छ। बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँबाट १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
बैंकको फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ७३ करोड रुपैयाँबाट २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।
बैंकको नियामक समायोजन अघिको नाफा २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । नियमनकारी समायोजन र अघिल्लो वर्षको सञ्चित नाफा समायोजन पश्चात् कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ कायम भएकोमा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश घटाएपछि साधारण सेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध रहेको छ ।
बैंकले आफ्नो व्यवसाय विस्तार र वासलातको आकार थप विस्तार गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पुँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।



